सीके राउतको पृथकतावादी समूह ‘जनमत पार्टी’ का रुपमा निर्वाचन आयोगमा दर्ता हुने

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ४, २०७५

    - पृथकतावादी राजनीति त्यागेर सरकारसँग ११ बुँदे सम्झैता गरेको सीके राउत समूह अन्ततः मुलधारको राजनीतिमा आउने भएको छ । सिरहाको लाहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद बैठकले समूहलाई पार्टीमा रुपान्तरण गर्दै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको हो । उसले स्वतन्त्र मधेसका साथै जनमत संग्रहको माग समेत परित्याग गरेको छ ।

    तराई मधेशलाई नेपालबाट पृथक गर्ने सन्देश दिने गरी यसअघिको ‘स्वतन्त्र मधेश गठबन्धन’ नाम परिवर्तन गरी सो समूहले ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । ‘स्वतन्त्र मधेश गठबन्धन’ नामबाट नै राउत समूहले गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेको थियो । 

    ‘जनमत पार्टी’को अध्यक्षमा राउतलाई चयन गदै परिषद् बैठकले ३५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । जसमा अहिले हिरासतमा रहेका कैलाश महतोलाई समेत समावेश गरिएको छ । केन्द्रीय समितिका बाँकी १० सदस्य पछि चयन गरिने बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै बैठकले निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयका साथ निर्वाचन चिन्ह ‘अष्टदल’ राख्ने निर्णय गरेको छ । 

    संविधान बमोजिम आफ्ना गतिविधि गर्ने बताउँदै विज्ञप्तीमा सरकारसँग भएको सहमति कार्यान्वयनका लागि चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति गठन गरिएको जनाइएको छ । सरकारले सीके राउतसँग ११ बुँदे सहमति गरेपछि चौतर्फी आलोचना भएको थियो । 

     

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्