माथिल्लो त्रिशूली थ्री 'ए' ले आगामी वैशाखबाट उत्पादन थाल्ने

काठमाडौं

    चैत्र ५, २०७५

    - रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री 'ए' जलविद्युत आयोजनाको ३० मेगावाट विद्युत् आगामी वैशाख १७ गते भित्र उत्पादन थाल्ने भएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट वैशाख १७ गते भित्रमा विद्युत् उत्पादन शुरु गर्ने निर्णय गरेको हो ।

    यस्तै दोस्रो युनिटबाट असार १५ गतेबाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ । बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्याका बाबजुद आयोजना सम्पन्न हुने अवस्थामा पुगेको बताउनुभयो।

    हाल आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको घिसिङले जानकारी गराउनुभयो । आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि सहज हुने घिसिङको भनाई थियो । 

    ६० मेगावाटको आयोजनामा ३०/३० मेगावाटका दुई वटा युनिटहरु रहेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभएको थियो । 

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्