एसपी बिष्ट प्रहरी हिरासतमा, थप बयान भोलि

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ५, २०७५

    - बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोगमा अदालतमा हाजिर भएका निलम्वित एसपी दिल्लीराज बिष्टको बयान नसकिएपछि कञ्चनपुर प्रहरी हिरासतमा राखिएको छ । निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंह बिष्टका दाजु खड्गले ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा उजुरी दिएका थिए ।

    अघिल्लो बुधबार जिल्ला अदालत कन्चनपुरले उपस्थितीका लागि ३५ दिने सुचना जारी गरेको १४ दिनमा उनी आज अदालत उपस्थित भएका थिए । जिल्ला अदालतले मुद्दाका विषयमा आज बयान लिएको थियो । तर बयान नसकिएपछि उनलाई हिरासतमा राख्न आदेश दिएको अदालतलाई उद्धृत गर्दै सहकर्मी भवानी भट्टले जनाएका छन् ।

    विष्टको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित ८ प्रहरीविरुद्ध अनुसन्धानमा लापरवाही गरेको तथा निर्दोषलाई पक्राउ गरी यातना दिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आरोपित डीएसपी अंगुर जिसी भने अझै फरार छन् । यसअघि पक्राउ परेका ६ जना प्रहरीलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

    न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, असईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् । गत साउन १० गते साथीको घर गएकी बालिका भोलिपल्ट भीमदत्त नगरपालिका, १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको ८ महिनासम्म पनि प्रहरी अनुसन्धान अझै शून्यमा छ । अनुसन्धानका लागि प्रहरीले आवश्यक ठोस प्रमाण समेत जुटाउन सकेको छैन । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्