पदको दुरुपयोग गरेको आरोपमा कर्णेलमाथि कारबाही 

नवलपरासी

    चैत्र ५, २०७५

    - पदको दुरुपयोग गरेको अरोपमा सैनिक मुख्यालय जंगी अड्डाले बहालवाला कर्णेल रविन्द्र लुँइटेललाई कारबाही गरेको छ । नवलपरासीको हात्तिखोरस्थित वन तथा पर्याबरण सुरक्षा गणका कर्णेल लुँइटेललाई कारबाही स्वरुप बारास्थित नेपाली सेनाको २८ नम्बर बाहिनीमा झिकाइएको छ ।

    सैनिक मुख्यालयले २४ घण्टा भित्र २८ नम्बर बाहिनीमा हाजिर हुने गरि खटाइएको सैनिक प्रबक्ता यमप्रसाद ढकालले जानकारी दिनुभयो । कर्नेल लुईटेललाई जिम्मेवारी बिहिन अबस्थामा हाजिर गराइएको दाबी सैनिक मुख्यालयको छ । 

    कर्णेल लुइटेलले पदीय दुरुपयोग गरेका बारेमा छानविन गर्दा सैनिक ऐन विरुद्ध अख्तियार दुरुपयोग गरेको भेटिएकाले तत्काल उनलाई जिम्मेवारी वाट हटाइएको र अन्यत्रै सरुवा गरिएको प्रवक्ता ढकालले रेडियो कान्तिपुरलाई बताउनुभयो । उनीविरुद्द अन्य कारबाहि सैनिक ऐन अनुसार हुने ढकालको भनाई छ । लुँइटेलको स्थानमा जंगी अड्डाले शारदा भक्तलाई खटाएको छ ।

    कर्णेल लुँइटेलले आफनो घरको पर्खाल लगाउन जवानलाई खटाएको विषयमा जंगी अड्डाले छानबिन गरेको थियो । नवलपरासीको गैडाकोट नगरपालिका, २ स्थित प्रगती टोलमा रहेको १२ आना जग्गामा पहिलो चरणमा पर्खाल लागाउन कर्णेल लुईंटेलले ५८ जना सैनिक जवानलाई काममा लगाएका थिए ।

    नीजि काममा सेनालाई खटाएर अख्तियार दुरुपयोग गरेको भन्दै सैनिक मुख्यालले लुँइटेलमाथि छानविन गर्न वन तथा पर्यावरण निर्देशनालय र सेनाको सिकायत जाँच कार्यालयको टोली खटाएको थियो ।  

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्