एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा  

- रमेश दुलाल , काठमाडौं

    चैत्र ५, २०७५

    - आगामी आइतबारबाट सुरु हुने विद्यालय शिक्षा परीक्षा (एसईइ) को सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सबै जिल्लामा प्रश्नपत्र, उत्तर पुस्तिका, केन्द्राध्यक्ष, सुरक्षाकर्मी लगायतका व्यवस्थापन सकिएको उप–नियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।

     यो वर्ष ४ लाख ७४ हजार ९ सय ८७ विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । नियमित तर्फ ४ लाख ५० हजार १ सय ८६, प्राविधिक धार तर्फ ९ हजार ३ सय ४३, ग्रेडवृद्धिमा १५ हजार ४ सय ७४ जना रहेका छन् । परीक्षामा २ लाख ३६ हजार ४ सय ३९ छात्र र २ लाख ३८ हजार ५ सय ४८ जना छात्रा रहेका छन् । सबैभन्दा बढी प्रदेश ३ मा १ लाख ३ हजार ४ सय ६० र कर्णाली प्रदेशमा सबैभन्दा कम ३२ हजार २ सय ४४ जना रहेको उप नियन्त्रक शर्माले बताउनुभयो ।

    काठमाडौंमा सबैभन्दा धेरै ३४ हजार ८ सय ७९ र सबैभन्दा थोरै मनाङमा ५३ विद्यार्थी छन् । विद्यार्थीको संख्या थोरै भएपनि गत वर्षको तुलनामा १३ वटा परीक्षा केन्द्र थप गरिएको छ । परीक्षाका लागि १ हजार ९ सय ६९ केन्द्र तोकिएका छन् । अनिवार्य विषयको परीक्षा प्रदेशगत रुपमा फरक फरक हुने बोर्डले जनाएको छ । गत वर्ष ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।  गत वर्षको तुलनामा यो वर्ष करिव १० हजार विद्यार्थी कम छन् । परीक्षा चैत २१ गतेसम्म संचालन हुनेछ । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्