किसानको धान खरिद गर्ने खाद्य संस्थानको लक्ष्य पूरा भएन

- सुरज राजथला, काठमाडौं
  • धान खरिदका लागि ९१ करोड ८६ लाख रुपैयाँ विनियोजन

चैत्र ६, २०७५

कृषकको धान खरिद गर्ने नेपाल खाद्य संस्थानको लक्ष्य चालू आर्थिक वर्ष पूरा हुन सकेन ।  चालू आर्थिक वर्षको फागुनसम्ममा तीन लाख ५० हजार क्वीन्टल धान खरिद गर्ने संस्थानको लक्ष्य थियो । तर, समय भित्र जम्मा २ लाख २३ हजार ८ सय ९१ क्वीन्टल धान खरिद भएको संस्थानले जनाएको छ ।

समय कम भएकाले धान खरिदको लक्ष्य पूरा गर्न समस्या भएको संस्थानका योजना विभाग प्रमुख एवं सूचना अधिकारी शंकर सापकोटाले बताउनुभयो । 

केही जिल्लामा संस्थानले भन्दा निजी व्यापारीले बढी मूल्यमा किसानबाट धान खरिद गरेका कारण लक्ष्य पूरा गर्न नसकिएको संस्थनाको भनाई छ । केही नीतिगत अस्पष्तताका कारण पनि धान खरिदमा ढिलाई भएको संस्थानका सूचना अधिकारी सापकोटाले बताउनुभयो । चालू आर्थिक वर्षमा धनगढीस्थित संस्थानको अञ्चल कार्यालयबाट २१ हजार १ सय ९४ र नेपालगञ्जबाट ३२ हजार ७ सय १६ क्वीन्टल धान खरिद भएको संस्थानले जनाएको छ । 

संस्थानको शाखा कार्यालय भैरहवाबाट २४ हजार ५ सय ४५, वीरगञ्जबाट २४ हजार ५ सय ८७, महेन्द्रनगरबाट ५ सय ९ र जनकपुरबाट ५ हजार २३ क्वीन्टल धान खरिद गरेको संस्थानले जनाएको छ । 

यस्तै, मोरङको विराटनगरस्थित संस्थानको अञ्चल कार्यालयबाट १९ हजार ९ सय ९०, झापाको विर्तामोडबाट २४ हजार ९ सय ९९ सिरहाको लहानबाट ६९ हजार ९ सय ९५ बर्दियाको राजापुरबाट ३ सय ३० क्वीन्टल धान खरिद गरिएको संस्थानले जनाएको छ । 

सरकारले चालू आर्थिक वर्षमा धान खरिदका लागि ९१ करोड ८६ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । संस्थानका अनुसार मोटा धानको मूल्य प्रति क्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्वीन्टल २ हजार ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित:चैत्र ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्