साफ वुमन च्याम्पियनसीपको दुबै सेमिफाइनल आज 

- रेडियो कान्तिपुर, काठमाडौं
  • दुबै टोली फाइनल पुग्ने योजनामा

चैत्र ६, २०७५

मोरङको विराटनगरमा जारी पाँचौ साफ वुमन च्याम्पियनसिप फुटबल प्रतियोगीतामा आज दुबै सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछन् । स्थानीय शहिद रंगशालामा हुने खेलमा दुबै टोली आक्रामक फुटबल खेल्दै फाइनल पुग्ने योजनामा छन् ।  

घरेलु मैदानमा आयोजना गरिएको प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल, सोही अनुसारको खेल सेमिफाइनल खेलमा पस्कने योजनामा रहेको छ । समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले हराएको नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश  गरेको हो ।

समूह बीको उपविजेता बन्दै सेमिफाईनल आएको श्रीलंकाले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग फराकिलो अन्तरले पराजय भोगेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले प्रतिद्वन्द्वीलाई कमजोर नठान्ने भन्दै आक्रामक फुटबल खेल्दै उपाधि नजिक पुग्ने बताउनुभयो । 

सोही मैदानमा दिउँसो ३ बजे भारत र बंगलादेश आमने सामने हुनेछन् । शत प्रतिशत नतिजासँगै भारत समूह बीको विजेता बनेको थियो । समूहचरणमा एक जित र एक हार भोगेको बंगलादेश, समूह ए को उपविजेता बन्दै अन्तिम चारमा प्रबेश गरेको थियो ।  

प्रकाशित:चैत्र ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्