सीमा विवादले छिमेकीबीच तिक्तता 

- राजबहादुर शाही, मुगु
  • सीमा विवादका कारण विकास निर्माणमा बाधा
विवाद बल्झिँदै गएपछि त्यस क्षेत्रका सर्वसाधारण स्थानीयलाई भेडाबाख्रा गाई भैंसी घोडा चराउन समस्या उत्पन्न हुन थालेको छ । सीमा वस्तीका स्थानीयबीच झैँ – झगडा उत्पन्न हुने गरेको छ ।

चैत्र ६, २०७५

मुगुको दुई वटा सीमा विवादको समस्या समाधान गर्न मुस्किल भएको छ । संघीय संरचना कार्यान्वयन भएपछि यस जिल्लाको हुम्लाको चंखेली र जुम्ला घुच्चीलेक डाबको सीमा विवाद भने बल्झिँदै गएको छ । सीमा विवादका कारण छिमेकी जिल्लाको एक आपसको वैवाहिक सम्बन्ध टुटेर तिक्तता उत्पन्न भएको छ ।

छायाँनाथ रारा नगरपालिकाले घुच्चीडाब सेनाको क्याम्पसम्म आफ्नो क्षेत्र भएको दाबी गरेको छ भने जुम्ला कनका सुन्दरी गाउँपालिकाले घुच्ची सिप्टीचौर सम्म आफ्नो सिमाना रहेको भनेर दाबी गरेपछि विवाद सुरु भएको हो । 

गत आर्थिक वर्षमा नगरपालिकाले मुगु र जुम्लाको सीमा छुट्याउन घुच्चीडाब सेनाको क्याम्प नजिकै गेट निर्माण गर्न लाग्दा जुम्लाका स्थानीय आएर भत्काएपछि दुबै पक्षबीच मुगु जिल्ला अदालतमा मुद्दा समेत परेको छ । वादी र प्रतिवादीले तारेख थाम्दै आएका छन् । कनका सुन्दरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले पुर्खा देखि सिप्टीचौर आफ्नो क्षेत्र भएको गाई गोरु चराउन अस्थायी टहरा समेत बनाइएको भन्ने दाबी गरेका छन् । 

छायाँनाथ रारा नगरपालिका अन्तर्गत पिना झ्यारी कोटीलाका सिप्टीचौर देखि डाब सेनाको क्याम्प सम्म आफ्नो क्षेत्र रहेको दाबी गर्दै आएका छन् । मुगु र जुम्लाको सीमा विवादका कारण अदालतमा मुद्दा समेत परेको भन्दै छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीले फैसलाको प्रतिक्षामा रहेको बताउनुभयो । बाम चंखेली लेकको काँध देखि उताको भाग आफ्नो क्षेत्र भएको हुम्लीको दाबी गर्दै आएको छ भने, चंखेली लेक भन्द पर जोगिमारे भन्ने स्थानसम्म मुगुको सिमाना रहेको मुगु बाम, पोइपाटा दख्र्यालबाडा स्थानीयको दाबी छ । 

छायाँनाथ रारा नगरपालिका–१४ का वडा अध्यक्ष नन्दलाल बडुवालले भन्नुभयो, ‘हुम्ली चंखेली लेक देखि आफनो क्षेत्र भन्न हामी उता जोगिमारे ठाउँ सम्म हाम्रो क्षेत्र हो भनेर भनेका छौं ।’ 

उक्त सीमा क्षेत्र नगरपालिकाकै वडा नम्बर १४ भित्र पर्ने गरेको छ समयमा सीमा विवाद सुल्झाउन सकिएन भने भोलिका दिनमा ठूलो समस्या खडा हुने बडुवालको भनाई छ । सीमा विवादका कारण मुगु, र हुम्ला तथा जुम्ला र मुगुको एक आपसको छिमेकी जिल्लाबीच तरंग उत्पन्न गराएको छ ।

विगतका वर्षहरुमा वैवाहिक ब्यापारी नातागोताको सुमुधर सम्बन्ध गरेको भएपनि सिमाना क्षेत्रले गर्दा छिमेकी जिल्लाबीच तिक्तता उत्पन्न गराएको स्थानीयको भनाई छ । छिमेकी जिल्लाको सीमा विवाद छिटो सुल्झाउनु पर्ने स्थानीयको माग छ । दुबै जिल्लाका प्रहरी प्रशासन जनप्रतिनिधि बसेर सीमा विवाद छिटो समस्या समधान गर्नुपर्ने नगरपालिकास्थित पिना गाउँका टक्कबहादुर मल्लले बताए । 

विवाद बल्झिँदै गएपछि त्यस क्षेत्रका सर्वसाधारण स्थानीयलाई भेडाबाख्रा गाई भैंसी घोडा चराउन समस्या उत्पन्न हुन थालेको छ । सीमा वस्तीका स्थानीयबीच झै – झगडा उत्पन्न हुने गरेको छ । यो मेरो क्षेत्र हो भनेर चौपाय वस्तु चराउन प्रतिबन्ध लगाउन थालेका छन् । 

छिमेकी जिल्लाको सीमा विवाद स्थानीय तहका जनप्रतिनिधिले नै टुङ्गयाउनु पर्ने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको भनाई छ । जनप्रतिनिधिले पनि विवाद टुंगो लगाउन नसके संघीय मामिला तथा प्रसाशन मन्त्रालयले टुंग्याउनु पर्ने प्रावधान रहेको उहाँको भनाई छ ।

सीमा विवादका कारण विकास निर्माण प्रकृया समेत बाधा उत्पन्न हुन थालेको छ । एक जिल्लाले गर्न थालेको विकास अर्को जिल्लाका स्थानीय आएर भत्काउन अवरोध पुर्याउने गर्न लागेका छन् । सीमा क्षेत्रको विकास निर्माणमा छुट्याइएको बजेट समेत खेर जान थालेको छ । जुम्लाका स्थानीयले सीमा गेट निर्माण गर्न नदिँदा गत वर्षको १० लाख रुपैयाँ बजेट फ्रिज गएको नगरपालिका–७ का वडा अध्यक्ष हरिचन्द शाहीको भनाई छ ।

मुगु र जुम्लाको सिमाना विवाद कसरी समस्या समाधान गर्ने भन्ने बारे कर्णाली प्रदेश सरकारलाई जानकारी गराएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको भनाई छ । भूगोल अध्यायन जनप्रतिनिधि स्थानीय बीच छलफल गरेर विवाद टुंगो लगाउन जाडो प्रयास गरिने उहाँको भनाई छ । 

प्रकाशित:चैत्र ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्