सत्तारुढ फोरमले राजपालाई दियो 'ग्रिन सिग्नल'

- प्रकाश पाठक, काठमाडौं
  • सरकार छाड्ने राजपाको शर्तमा फोरम मौन

चैत्र ७, २०७५

उपप्रधानमन्त्री सहित सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपालले आफ्ना माग स्थापित गराउन राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग सहकार्य गर्ने भएको छ । यद्यपि, सरकार छाड्नु पर्ने राजपाको शर्तमा भने फोरम नेपाल मौन बसेको छ ।

आफ्ना माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको फोरम नेपालले सरकार बाहिरको राजपासँग पनि सहकार्य गर्ने तयारी गरेको हो । सत्ता नेतृत्वकर्ता दल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई यथास्थितीवादी पार्टीको संज्ञा दिदै फोरम नेपालले राजपासँग सहकार्यका लागि सकारात्मक रहेको बताएको हो ।

बृहत मोर्चा निर्माण र पार्टी एकताको पहलका लागि राष्ट्रिय जनता पार्टी राजपाले पठाएको प्रस्तावको जवाफ दिदै समाजवादी फोरमले यथास्थितीवादीसँग फेरि लड्नुको विकल्प नभएको बताएको हो । राजपाको प्रस्तावमा झण्डै २ महिनापछि जवाफ पठाउँदै समाजवादी फोरमले माग सम्बोधनका लागि राज्यलाई दबाब आवश्यक रहेको बताएको हो । राजपाको पत्रको जवाफमा फोरम नेपालले भनेको छ, ‘नेकपा र कांग्रेस यथास्थितीवादी पार्टी हुन् । उनीहरुसँग लड्नुको विकल्प छैन् ।’

फोरम नेपालको जवाफ सकारात्मक भएपनि तत्काल एकता वा सहकार्यको प्रक्रिया भने सुरु नभएको राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताउनुभयो । रेडियो कान्तिपुरसँग कुरा गर्दै नेता महतोले छरिएर उठेका आवाजलाई एकत्रित गरी राष्ट्रिय आन्दोलन सुरु गर्ने तयारीमा राजपा रहेको उल्लेख गर्नुभयो ।

त्यसका लागि विचार मिल्ने दलहरुसँग एकता, मोर्चाबन्दी र सहकार्यको प्रस्ताव अघि सारेको उहा“को भनाई छ । छुट्टा छुट्टै रुपमा आन्दोलनमा जाँदा सरकारमा रहेका दलहरुले पनि खेल्ने मौका पाएकाले आफूहरुको मुद्दा कमजोर बनेको राजपाको बुझाई छ ।    

प्रकाशित:चैत्र ७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्