अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीको आह्वान 

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ७, २०७५

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको मुलुकमा स्तरोन्तरी हुन चाहेकाले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्नुभएको छ । अर्जेन्टिनाको बोईनस एरिसमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, राष्ट्र संघीय प्रतिनिधि तथा मन्त्रीहरु सहभागी बापा सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

    नेपाल विकासशिल अवस्थाबाट माथि उठ्न चाहेको ज्ञवालीको भनाई थियो । विकासशिल राष्ट्रहरुको उन्नतिका लागि स्थापित दक्षिण – दक्षिण साझेदारी अर्थात बापा सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकभित्र विकासका आधारहरु तय भएको जानकारी गराउँदै दिगो विकासको अवधारणालाई समेत आत्मसाथ गरेको बताउनुभयो ।

    पछिल्लो समय मुलुक सम्बृद्धिको बाटोमा अग्रसर भएको उल्लेख गर्दै नेपाल सरकार समृद्ध नेपाल खुशी नेपालीको नारा साकार पार्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

    मुलुक दक्षिण क्षेत्रका अन्य राष्ट्रहरुसँग कसैलाई पछि नपारौं भन्ने नीति अबलम्वन गरेको, गरिबी निवारण तथा दिगो विकासमा प्रतिबद्ध भएको, जलवायू परिवर्तन, लैगिक समानता, सहभागिता, सामाजिक न्याय, तेस्रो लिङ्गीको अधिकारप्रति गम्भीर रहेको र शान्ति र स्थायित्वका लागि प्रतिबद्ध भएको लगायत कारणले नेपालसँग सहकार्य गर्दा सहज हुने पनि स्पष्ट पार्नुभयो ।

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्