तराईका जिल्लामा हर्षोल्लासपूर्वक होली मनाईदै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ७, २०७५

    रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाईदैछ । फागुन पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा हिजो मनाईएपनि तराईका जिल्लामा भने आज मात्र मनाउन लागिएको हो । होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा लिने गरिन्छ । एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । 

    सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व समेत मानिएको होली एक प्राचीन पर्व हो । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । होरी, होली, फगुआ र फागुका नामले समेत मनाइने यो प्रेम र स्नेहको पर्व पनि हो ।

    प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।

    जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रतिक पनि हो । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

    त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्हादलाई होलीसँग जोडेर हेर्ने गरिएको छ । हिरण्डकश्यपुका छोरा प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएको दिनदेखि असत्यमाथि सत्यको जीतको प्रतिकका रुपमा यो पर्व मनाउने गरिएको धार्मिक विश्वास छ ।  

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्