प्रधानमन्त्री ओलीद्वारा १० हजार कित्ता सेयर खरिदका लागि आवेदन 

- रेडियो कान्तिपुर, काठमाडौं
  • जनताको जलविद्युत आयोजना कार्यक्रम सुरु

चैत्र ७, २०७५

जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तर्गत पहिलो चरणमा माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका लागि आज साधारण सेयर खुला भएको छ । त्रिशूली–३ ‘बी’ कम्पनी लिमिटेडले नुवाकोटमा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको सो आयोजनामा लगानीका लागि आजबाट आवेदन दिन सकिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजनाको सेयरमा आवेदन दिंदै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ अभियान अन्तर्गन प्रधानमन्त्री ओलीले १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनु भएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनु भएको हो । 

सेयर खरिदका आवेदन दिंदै प्रधानमन्त्री ओलीले आफ्नो देश आफै बनाउन देशभित्र र बाहिर रहेको सम्पूर्ण नेपालीलाई आह्वान समेत गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले पनि एक हजार कित्ता सेयरका लागि आवेदन दिनुभएको छ ।    

प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्व सभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिनु भएको छ । यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । ’नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ को नारा सहित यो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

आयोजनाको साधरण सेयर आइपीओ खरिद गरेर जनताको कार्यक्रम औपचारिक रुपमै कार्यान्वयनमा लैजाने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । पहिलो चरणमा सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता साधरण सेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

पहिलो किस्ता आवेदनका लागि हाल यसको १० प्रतिशत अर्थात ३ करोड ७० लाख ५० हजार रुपैयँ“को लागि मात्र सेयर माग गरिएको छ । दोस्रो किस्ता आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि बा“की ९० प्रतिशत रकम भुक्तानी गरिनेछ । 

जनताको जलविद्युत कार्यक्रमका लागि मन्त्रालयले ३ हजार ४ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । हरेक नेपालीलाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ गर्ने यसको मख्य उद्देश्य रहेको मन्त्रलमयले जनाएको छ ।  

प्रकाशित:चैत्र ७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्