चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश ओली पक्राउ

- रेडियो कान्तिपुर, काभ्रे

    चैत्र ९, २०७५

    नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्ड समालेका हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ । गएराति काभ्रेको खानीखोला गाउँपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडी चालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, विजय श्रेष्ठ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का सहितका कार्यकर्ता पक्राउ परेका हुन् ।

    स्रोतका अनुसार विशेष काभ्रेको काफल डाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो । प्रहरी त्यहाँ नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

    गत मंगलबार काभ्रेको काफल डाँडामा प्रहरी र चन्द समूहबीच गोली हानाहान भएको थियो । त्यसयता प्रहरी उनको खोजीमा लागेको थियो ।

    प्रहरीले उनलाई राज्य विद्रोहको मुद्दा चलाउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । गत महिना ललितपुरको नख्खुस्थित एनसेल गेटमा भएको विष्फोटमा ओलीलाई मुख्य योजनाकार मानिएको छ ।

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्