उपभोक्ता ठगी गर्ने ६ व्यावसायिक फार्मलाई जरिवाना 

- सुरज राजथला, काठमाडौं
  • चालू आवमा २८ सय व्यापारिक फर्ममा अनुगमन गर्ने विभागको लक्ष्य
नयाँ उपभोक्ता संरक्षण ऐन जारी भएपछि विभागले चार महिनामा मात्रै एक सय पाँच व्यावसायिक फार्मलाई जरिवाना गरेको जनाएको छ । गत असोजमा नयाँ ऐन जारी भएपछि ६ सय ३३ व्यावसायिक फार्ममा अनुगमन गरेको विभागले जनाएको छ ।

चैत्र ९, २०७५

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा गरेको बजार अनुगमनका क्रममा ६ वटा व्यावसायिक फार्मलाई जरिवाना गराएको छ । बढी मूल्य लिएर उपभोक्ता ठगी गरेको भन्ने उजुरीको आधारमा विभागले गत मंगलबार काठमाडौंको विभिन्न क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा कैफियत भेटिएका ६ व्यावसायिक फार्मलाई जरिवाना गराएको हो ।

अनुगमनका क्रममा काठमाडौंको न्यूरोड श्री जय अम्बे सारी सोरुमलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । बढी मूल्य लिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३९ बमोजिम कसुर भएको पाइएकोले जरिवाना गराएको विभागले जनाएको छ ।

न्यूरोडस्थित श्री ललिता कलेक्सनमा व्यवसाय दर्ता प्रमाणपत्र बिक्री स्थलमा नभेटिएकाले १० हजार रुपैयाँ जरिवाना गराएको विभागले जनाएको छ । व्यवसाय दर्ता प्रमाणपत्र बिक्री स्थलमा नभेटिएकोले निजलाई सक्कल कागजात सहित ७ दिन भित्र उपस्थित हुने निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन संयोजक त्रिशान श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, न्यूरोडस्थित श्री सम्झना इम्पोरियमलाई ५ हजार, श्री सुमन स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ । यस्तै, खुसिबुस्थित श्री काठमाडौं भेराईटी सप्लायर्समा म्याद नाघेको सामानहरु बिक्री लागि राखेको भेटिएकाले साईनबोर्ड सबैले देख्ने गरी राख्न तथा म्याद नाघेको सामानहरु बिक्री स्थलमा नराख्न निर्देशन दिएको विभागले जनाएको छ ।

नयाँ उपभोक्ता संरक्षण ऐन जारी भएपछि विभागले चार महिनामा मात्रै एक सय पाँच व्यावसायिक फार्मलाई जरिवाना गरेको जनाएको छ । गत असोजमा नयाँ ऐन जारी भएपछि ६ सय ३३ व्यावसायिक फार्ममा अनुगमन गरेको विभागले जनाएको छ । चालू आर्थिक वर्षमा २ हजार ८ सय वटा व्यापारिक फर्ममा अनुगमन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । 

प्रकाशित:चैत्र ९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्