पाटनमा आगामी बुधबार देखि कला तथा संस्कृति महोत्सव हुने

- रेडियो कान्तिपुर, ललितपुर
  • हस्तकला नगरी घोषणा भएको उपलक्षमा महोत्सव
ललितपुर महानगरले हस्तकलालाई जीवन्त राख्न सफल भएकाले विश्व कला परिषदले गत मंसिरमा महानगरलाई हस्तकला नगर घोषणा गरेको थियो । 

चैत्र ९, २०७५

ललितपुरको पाटनमा आगामी बुधबारदेखि कला तथा संस्कृति महोत्सव २०७५ आयोजना हुने भएको छ । विश्व कला परिषदले ललितपुर महानगरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेको उपलक्ष्यमा ललितपुरको पाटनमा कला तथा संस्कृति महोत्सव २०७५ आयोजना हुन लागेको हो ।

ललितपुर महानगरपालिकाको वडा नम्बर १६ को आयोजनामा हुन लागेको सो महोत्सव यहि चैत १३ देखि १७ गते सम्म चल्नेछ । ललितपुर महानगरलाई हस्तकला नगरीको रुपमा प्रर्वधन, स्थानीय हस्तकला व्यवसायको प्रर्वधन तथा सम्र्वद्धन गर्ने उद्देश्यका साथ महानगरको वडा नम्बर १६ ले कला तथा संस्कृति महोत्सव महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

ललितपुरका मूर्तिकला, काष्ठकला, धातुकला लगायत हस्तकलाका वस्तुका प्रर्दशनीका साथै मौलिक संस्कृति, र अमूर्त सम्पदा झल्किने सांस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रम मेलाको मुख्य आर्कषण गरेको आयोजकले जनाएको छ ।

यस्तै, हेरिटेज वाक, नेवारी कला संस्कृति झल्काउने नाच र संगीत, नेवारी खाना तथा कुटुक्ब ब्याण्डको सांस्कृतिक प्रस्तुति समेत रहेको आयोजकले जनाएको छ ।

मेलामा ललितपुरलाई कला नगरीको रुपमा चिनाउने विभिन्न शैक्षिक र चेतनामूलक सामग्रीको प्रस्तुति समेत रहने मेला सञ्चालन समितिका सचिव सुजन बज्राचार्यले बताउनुभयो । ललितपुर महानगरलाई कला नगरको रुपमा चिनाउने तथा यसको संरक्षणमा  वडा नम्बर १६ का स्थानीयको मुख्य भूमिका रहेको उहाँले बताउनुभयो ।

महोत्सवमा पाटन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने गरी 'हेरिटेज सपिङ् एण्ड डाइन एट पाटन इन इभिनिङ' को समेत थालनी र प्रचार प्रसार गरिने उहाँले जानकारी दिनुभयो । यस महोत्सवले नेपाल भ्रमण वर्ष २०२० को प्रर्वधनमा समेत टेवा पुग्ने समेत आयोजकले जनाएको छ । 

ललितपुर महानगरले हस्तकलालाई जीवन्त राख्न सफल भएकाले विश्व कला परिषदले गत मंसिरमा महानगरलाई हस्तकला नगर घोषणा गरेको थियो । 

प्रकाशित:चैत्र ९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्