एसईई परीक्षा सुरु

- रेडियो कान्तिपुर, काठमाडौं
  • कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी

चैत्र १०, २०७५

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज सुरु भएको छ । बिहान ८ बजे सुरु परीक्षाको पहिलो दिन आज विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षामा कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

नियमिततर्फ चार लाख ५० हजार १ सय ८६ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिनुभयो । परीक्षाका लागि मुलुकभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

यस पटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टाछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६ सय ७१ जनशक्ति परिचालन भएका छन् ।

तीमध्ये सुरक्षाकर्मी मात्र २९ हजार ५ सय ३५ छन् । गत वर्षको परीक्षामा ४ लाख ६३ हजार ७ सय परीक्षार्थी सम्मिलित थिए । यस पटकदेखि परीक्षा प्रदेशले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन भने केन्द्रले नै गर्नेछ ।  

प्रकाशित:चैत्र १०, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्