विप्लब समूहको चन्दा थ्रेटले कर्मचारीले गाउँ छाडे 

- नारायण शर्मा ,  नवलपरासी

    चैत्र १०, २०७५

    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे चन्दा आतंकले नवलपरासीको बुलिंटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ३ सिनियर कर्मचारीले गाउँपालिका छाडेका छन् । नेकपा विप्लबका वीरगञ्ज इन्चार्जका नामबाट गाउँपालिकामा चन्दा माग गरेका छन् । चैत १४ गते भित्र त्यति रकम पार्टीलाई बुझाउन पर्ने भन्दै अन्तिम मिति तोकिएपछि त्रसित ती कर्मचारीले आफूखुशी कार्यालय  छाडेका हुन् । विप्लब माओवादीले पूर्वी नवलपरासीका सबै स्थानीय तहमा तोकेरै चन्दा माग गरेको पत्र थमाएका छन् । 

    गत बिहीबारदेखि गाउँपालिकाको कार्यालय छोड्नेमा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघुनाथ काफ्ले र इन्जिनियर सन्जय कुमाल हुन् । गाउँपालिकाको कार्यालय बुलिंटारले कालिगण्डकी नदी, देउसत खोला, फूलमादी लगायतका खोलामा गिट्टी, ढुंगा उठाउन टेन्डर आह्वान गरेको थियो । त्यहि खोला टेण्डरको रकमबाट आफूहरुको पार्टी चलाउन भन्दै उनीहरुले १० लाख ५० हजार रुपैयाँ पहिलो किस्ता माग गरेको हो ।

    पूर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्रमा नेकपाका गगन भनिने नेता सकृय रहेका छन् । गाउँपालिकाले कालिगण्डकी नदी, देउसत खोला र फूलमादी खोला लगायतमा ४६ लाख रुपैयाँ तोकेर टेण्डर आह्वान गरेको थियो । चैत्र ७ गते चितवनको हिरोज कन्सट्रक्सनले ५० लाखमा खोलाको टेण्डर स्वीकारेको हो ।

    करीब पौने ३ करोड रुपैयाँमा ठेक्का जाने सक्ने ति खोलाको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन ढिलो गराएका कारण चैत्र, बैशाख र जेठ मसान्त सम्मका लागि ४६ लाखमा खोलाको टेण्डर आह्वान गरिएको हो । गत साउनै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेर आगामी जेठ सम्मका लागि गिट्टी, बालुवा उठाउने ठेक्का लगाइएको भए कम्तीमा पौने ३ करोडमा जान्थ्यो गाउाँलिकाका एक कर्मचारीले भने, ‘ढिलो र थोरै समयका लागि टेण्डर आह्वान गरिएका कारण राजश्व घाटा भएको हो । जिल्लाका सबै पालिकाले ढिलो टेण्डर आह्वान गरेका कारण पूर्वी नवलपरासीमा यो आर्थिक वर्षमा कम्तिमा ५० करोड रुपैयाँ भन्दा बढी राजश्व घाटा भएको छ ।’ 

    खोलाको टेण्डर स्वीकार्नु नेकपाले त्यसैबाट आफूहरुको पार्टी सञ्चालनका लागि १० लाख ५० हजार रुपैयाँ माग गर्दैै पत्र थमाएर चैत्र १४ गते भित्र बुझाउन अल्टिमेटम दिएका हुन् । नेकपा नेता गगन थापा (उपनाम) ले पार्टी सञ्चालनका लागि भन्दै चन्दा माग गरेर प्रमुख कार्यकारी अधिकृतलाई पत्र थमाएको हो । अधिकृतले त्यसरी चन्दा दिने श्रोत आफूहरुको नभएको भन्दै अस्वीकार गरेका थिए । 

    दुर्गम बुंलिटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा भरपर्दो सुरक्षा निकाय नभएका कारण त्यहा चन्द समूहका कार्यकर्ताको चहलपहल बढी छ । ती तीन वटै गाउँपालिकामा शशस्त्र प्रहरी र सेनाको उपस्थिति छैन । बुलिंटारमा रहेको प्रहरी चौकीमा सईको कमाण्डमा थोरै जनशक्ति खटिएको छ । 

    बुलिंटारका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले खोला ठेक्का लगाउनु अघिदेखि नै गाउँभरीका ठेकेदारले आफूखुशी खोलाबाट खोलाजन्य पदार्थ निकाल्ने गरेको र टेण्डर आह्वान गरेपछि पनि त्यो क्रम नरोकिएकाले काम गर्न नसक्ने अवस्थाका कारण गत बिहीबारदेखि गाउँपालिका छोडेको बताउनुभयो । 

    टेण्डर आह्वान भईसकेपछि पनि दर्जनौं ट्रयाक्टर खोलामा दौडिएका र त्यसलाई नियन्त्रणमा लिन खोज्दा गाउँपालिकाका अध्यक्षले सहयोग नगरेका कारण गाउँपालिका छोड्न परेको उहाँको भनाई छ । गाउँलेहरु राजश्व तिरेर खोलाजन्य वस्तु उठाउन तयार नहुने र सवारी साधन समात्दा गाउँपालिका प्रमुखले गाउँलेको गाडी किन समातिस् भनेर धम्क्याएका कारण काम गर्ने वातावरण नभएर गाउँपालिका नबस्ने निधो गरेको उहाँले सुनाउनुभयो । 

    गाउँपालिकामा चन्द समूहका कार्यकर्ताको चन्दा थ्रेटका बारेमा भने उहाँ मौन हुनुभयो । यता गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले ठेक्का प्रकृयामा गईसकेपछि खोलाजन्य दोहन रोक्न प्रमुख प्रशासकीय अधिकृत लागेकाले त्यसो नगर्न र प्रहरी प्रशासनको सहयोगमा काम गर्न आग्रह गरेको बताउनुभयो । स्थानीयलाई कारबाही गरे आफूलाई गुहार्ने स्वभाविक हो, उहाँले भन्नुभयो, ‘अधिकृतलाई प्रशासनको सहयोगमा काम गर्नुस भन्दा गाउँपालिका बस्दिन भनेर जानुभयो ।’ 

    पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयराज नपालले मुख्य तिन कर्मचारीले गाउँपालिका छोडेको जानकारी पाएपछि प्रमुख प्रशासकीय अधिकृतलाई आफूले आइतबार कार्यालयमा बोलाएको बताउनुभयो । सबै कुरा बुझेर समन्वय गर्ने उहाँले जानकारी दिनुभयो । 

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्