कञ्चनपुर काण्ड : पूर्व एसपी बिष्ट धरौटीमा रिहा

कञ्चनपुर

    चैत्र १०, २०७५

    - कञ्चनपुरकी १३ बर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्व एसपी दिल्लीराज बिष्ट धरौटीमा रिहा भएका छन् ।

    थुनछेक बहसपछि जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आर्चायको इजलासले बिष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।  

    अदालतले पूर्व एसपी बिष्टलाई यातना कसुरमा ६ तथा प्रमाण नष्ट गरेकोमा साढे ४ लाख रुपैयाँ मागेको हो । जिल्ला अदालतले उपस्थितीका लागि ३५ दिने सुचना जारी गरेको १४ औँ दिनमा पूर्व एसपी बिष्ट गत मंगलबार अदालतमा हाजिर भएका थिए ।

    पूर्व एसपी विष्टसहित ८ प्रहरीविरुद्ध निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंह विष्टका दाजु खड्गले उजुरी दिएपछि गत फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र प्रमाण नष्टको मुद्दा दायर गरेको थियो । 

    सोही मुद्दाका आरोपित डीएसपी अंगुर जिसी अझै अदालत उपस्थित भएका छैनन् । डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र  रामसिंह धामी तथा जवान चाँदनी साउँद यसअघि नै धरौटी बुझाएर रिहा भईसकेका छन् ।   

    गत साउन १० गते साथीको घर गएकी बालिका भोलिपल्ट भीमदत्त नगरपालिका, १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको ८ महिनासम्म पनि प्रहरी अनुसन्धान अझै शून्यमा छ । अनुसन्धानका लागि प्रहरीले आवश्यक ठोस प्रमाण समेत जुटाउन सकेको छैन । 

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्