कतारसँगको खेलका लागि नेपाली टोलीमा सामान्य परिवर्तन 

काठमाडौं

    चैत्र १०, २०७५

    - एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत कतारसँगको खेलमा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । ओमानसँगको खेलमा दोस्रो मिनेटमै खराब ट्याकलको शिकार भएका मिडफिल्डर हेमन्त थापामगरको स्थानमा नितिन थापाले मौका पाएका छन् ।

    मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नितिनबाहेक पुरानै खेलाडीलाई मैदान उतार्दैछन् । टोलीमा गोलरक्षक अर्पण कार्की, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ रहने छन् ।

    डिफेन्सिभ मिडफिल्डमा तेज तामाङ, मिडफल्डमा गौरव बुढाथोकी, अन्जन विष्ट र सुनील बल तथा स्ट्राइकरमा बिमल घर्तीमगर रहेका छन् । नेपालले ४–१–४–१ को फर्मेसनमा टिम मैदान उतार्नेछ । फिफा वरियतामा १ सय ६१ औँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औँ स्थानमा रहेको कतारबिरुद्ध खेल्दैछ । 

    एसियन च्याम्पियनबिरुद्धको खेल कठिन हुने भए पनि रक्षात्मक रणनीति लिने र काउन्टर एट्याक तथा सेट पिसमा ध्यान दिने प्रशिक्षक महर्जनले बताए । कतार नेपालका लागि नयाँ प्रतिद्वन्द्वी पनि हो । नेपालको यस उमेर समूहको टोलीले अहिलेसम्म कतारको सामना गरेको छैन ।

    पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ । नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । 

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्