बयान नसकिएपछि निलम्वित डीएसपी अंगुर जिसी न्यायिक हिरासतमा

- रेडियो कान्तिपुर, काठमाडौं
  • थप बयान भोलि

चैत्र ११, २०७५

- निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका निलम्वित डीएसपी अंगुर जिसीलाई कञ्चनपुर जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।

बयान नसकिएपछि भोलि फेरि अदालतमा उपस्थित गराउने गरी जिसीलाई न्यायिक हिरासतमा पठाएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।  गत फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो । उनी १६ औँ दिनमा आज बिहान अदालतमा हाजिर भएका थिए ।

दुई छुट्टाछुट्टै मुद्दाको बयान सकिएपछि थुनछेकको बहस हुने अवस्थीले बताउनुभयो । पूर्व एसपी विष्टसहित ८ प्रहरीविरुद्ध निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंह विष्टका दाजु खड्गले उजुरी दिएपछि गत फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र प्रमाण नष्टको मुद्दा दायर गरेको थियो । 

सोही मुद्दाका मुख्य आरोपित तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्टसहित डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउँद धरौटी बुझाएर रिहा भईसकेका छन् ।

गत साउन १० गते साथीको घर गएकी बालिका भोलिपल्ट भीमदत्त नगरपालिका, १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिइन् ।  

 

प्रकाशित:चैत्र ११, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्