नेपालद्वारा भारत पराजित 

काठमाडौं

    चैत्र ११, २०७५

    - भारतमा भ्रमणमा रहेको १९ वर्षमुनिको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विजयी भएको छ । योसँगै नेपालले चार म्याचको सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपाली टोलीले आज भारतको आन्ध्र प्रदेशको १९ वर्षमुनिको टोलीलाई १ विकेटले हरायो । आन्ध्र प्रदेशले दिएको २ सय २८ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ९ विकेट गुमाएर भेट्टायो ।

     नेपालका कप्तान रोहित कुमार पौडेलले ७१ र भीम सार्कीले ४९ रनको योगदान गरे । यी दुईको जोडीले १ सय २ रनको साझेदारी गर्दै नेपालको जितको आधार खडा गरेका थिए । यस्तै पवन सरार्फले ३०, सन्दीप जोराले १९ , कुशल मल्लले १३ रन जोडे । 

    यसअघि पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय २७ रन बनाएको थियो । भारतीय टोलीका योगानन्दले ५९ र नितेस कुमारले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका कमल सिंह ऐरीले ४ तथा पवन सरार्फले ३ विकेट हात पारे ।

    १९ वर्ष मुनिको विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली  टोली भारत भ्रमणमा छ ।  आगामी अप्रिल दोस्रो साताबाट हुने एसिया छनोटमा नेपालसहित मलेसिया, सिंगापुर, संयुक्त अरब इमिरेट्स, कुवेत र ओमानले प्रतिस्पर्धा गर्दैछन् । छनोटको विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा हुने विश्वकपमा स्थान बनाउने छ । 

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्