सिरुवा पर्व धुमधामका साथ मनाईंदै 

- रेडियो कान्तिपुर, काठमाडौं

    वैशाख २, २०७६

    तराईका झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा आज सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

    नयाँ वर्षसंगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले काद सिरुवा खेल्दैछन् । माटोको हिलो बनाएर आपसमा सिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद सिरुवा’ खेल्ने गरिन्छ । माटो बिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद सिरुवा खेल्ने गर्छन् । 

    यसअघि सिरुवाको पहिलो दिन हिजो राजवंशी समुदायका व्यक्तिले हर्षोल्लाससाथ ‘पानी सिरुवा’ मनाएका थिए । लगातार ३ दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले भोलि रंग सिरुवा खेल्नेछन् । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्दछन् । 

    यसैबीच सिरुवा मनाउने झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले सिरुवा पर्वको शुभकामना दिदैं सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्नु भएको छ । उहाँले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान समेत गर्नुभएको छ । 

    यस्तै जुडशितल पर्वको अवसरमा प्रदेश २ सरकारले आज मातहतका आठै जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्