थिमिमा मनाइयो ३२ खट सहितको सिन्दुर जात्रा

- लीला श्रेष्ठ, भक्तपुर

    वैशाख २, २०७६

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खट सहितको सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ । बिस्का जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

    केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यसवर्ष १९ वटा मात्र रहेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठ बताउँनुभयो । बोडेको ७, निलबाराही, नगदेश, हिनचोकको १/१ बाहेक १९ खट नगर परिक्रमा गराइने र मोहन विनायकको खट जात्रा लोप भएको जनाएको छ । बोडे, नगदेश, हिनचोक लगायत स्थानमा छुट्टा, छुट्टै खट निकालिने गरिन्छ ।

    सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।

    जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजा सहित सिन्दुर जात्रा मनाइएको छ । 

    मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो  र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ । 

    परम्परा अनुसार नै देवता लाय्कू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । सोमबार दिउँसो मध्यपुर थिमि बोडे स्थित जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्