स्याङजाका पाँच सामुदायिक विद्यालय समायोजन

- प्रतीक्षा काफ्ले, स्याङ्जा

    वैशाख ७, २०७६

    स्याङ्जाको वालिङ नगरभित्रका पाँच वटा सामुदायिक विद्यालय समायोजन भएका छन् । एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) स्थानीय तहको अधिकार भित्र परेसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गरिएको हो ।

    वालिङ्का शिक्षा शाखा प्रमुख प्रकाश बन्धु अर्यालका अनुसार समायोजन हुने विद्यालयमा शारदा आधारभूत विद्यालय सपौंदे वालिङ २, राम्चेदेवि आधारभूत विद्यालय वालिङ ३, कालिकादेवि आधारभूत विद्यालय वालिङ १२, भगवती आधारभूत विद्यालय वालिङ १३ र चन्द्रज्योति आधारभूत विद्यालय वालिङ १३ रहेका छन् । 

    शारदा, राम्चेदेवि र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा थियो । शारदालाई बाँसपानी आधारभूत विद्यालय, राम्चेदेवीलाई माझकोट माध्यमिक विद्यालय, कालिकादेवीलाई सिर्सेकोट देउराली आधारभूत विद्यालय, भगवतीलाई मुटु भञ्ज्याङ आधारभूत विद्यालय र चन्द्रज्योतिलाई लक्ष्मी माध्यमिक विद्यालयमा समायोजन गरिएको शिक्षा शाखा प्रमुख अर्यालले बताउनुभयो । 

    ‘विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता जस्ता कारणले विद्यालयलाई पहिलो चरणमा समायोजन गरेका छौं’ नगरप्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, ‘समय सापेक्ष गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय समायोजनको अभियान थालिएको हो ।’

    विद्यालय समायोजन अभियान ५ वटा विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातदेखि नै लागू गरिएको नगरप्रमुख खाँणले बताउनुभयो । 

    विद्यालयहरुलाई एक आपसमा समायोजन गरी शैक्षिक ब्यवस्थापन प्रणालीलाई मजबुत बनाउने रहेको बताउँदै शिक्षा शाखा प्रमुख अर्यालले भन्नुभयो, ‘न्यूनतम मापदण्ड नपुगेका विद्यालयलाई मात्रै समायोजनको प्रक्रियामा लगिएको छ ।’

    स्मार्ट सिटीको रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक विद्यालयहरु समायोजन गरेको शाखा प्रमुख अर्यालले बताउनुभयो । 

    प्रकाशित:वैशाख ७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्