नुवाकोटमा सिन्दुरे जात्रा

- कृष्ण थापा, नुवाकोट

    वैशाख ९, २०७६

    नुवाकोटको पूरानो सदरमुकाम भैरवीथानमा सिन्दुरे जात्रा मनाइएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुरे छर्कने कार्य गरेपछि सिन्दुरे सुरु भएको हो ।

    विदुरनगरपालिका २ भैरवीथान मुनि धरपानीमा सरकारी पदाधिकारी सहित सेनाको व्याण्ड बाजा, देवीको चाडपर्वमा बजाइने बाजा, धिमे बाजा सहित शक्ति पीठ भैरवीको खट, धामीधमिनी सहित भैरवीधान पुर्‍याई कुमारीको उपस्थितिमा तान्त्रिक विधि अनुसार गुभाजुले धामी धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए ।

    राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयी भएको अवसरमा सिन्दुर जात्राको प्रचलन सुरु भएको राजप्रतिनिधि शाहीले बताए । त्यसपछि सबैले उक्त सिन्दुर छरेर सिन्दुर जात्रा मनाए । विदुरनगरपालिका ५ देवीघाट स्थित जालपादेवी मन्दिरबाट शनिबार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट भैरवीको रथमा अष्टमात्रिका, बाह्रभाई गणको मुकुटलाई धरमपानीको पाटीमा ल्याइएको थियो ।

    आइतबार साइत हेरेर ३ बजेको समयमा गुभाजुले विधि पूर्वाक पूजा गरी सेनाले शलामी अपर्ण गरी भैरवीथान नजिक रहेको धामी घरमा पूजाविधि गरिएको थियो । सिन्दुर जात्रामा ३ नम्बर प्रदेशका सभामुख सानु श्रेष्ठ, प्रदेश सांसदहरु, प्रजिअ लगायत सरकारी पदाधिकारीहरु उपस्थित थिए ।

    सिन्दुर र गाजल धामीलाई लगाइसकेपछि आउने दर्शकहरुलाई बाँढिएको थियो । भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजा सहित भैरवीको खटलाई सात तले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । त्यसपछि राजप्रतिनिधि शाहीको निवास अगाडि हाँस सहितको बलि पूजा दिएको थियो ।

    भत्किएको पाँच तल्ले तुलजा भवनीको प्रांगणमा समेत सेनाले सलामी दिएका थिए । त्यसपछि धामी, धमीनी र गणेश र कुमारलाई तुलजा भवानीका उपसेहरुले भोज खुवाइएका थिए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीथानको प्रांगण लामपाटीमा पुनः खट फकाईएको छ ।

    काठमाडौं बसन्तपुरबाट कंडेलचोकको भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा बसेर फर्किएपछि बैशाख १७ गते नुवाकोटको सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए । बैशाख पूर्णिमाको असरमा जात्रा सुरु भएको हो । 

    प्रकाशित:वैशाख ९, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्