घरबास मात्रै होइन होमस्टे

- आश गुरुङ,  लमजुङ

    वैशाख २७, २०७६

    घरबासको अंग्रेजी रुप होमस्टे हो । प्रचलनमा होमस्टे प्रख्यात छ । लमजुङमा होमस्टे संचालनको इतिहास करीब २ दशकको छ । स्मार्ट भिलेज उन्मुख घलेगाउँका स्थानीयले २०५६ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरी ०५७ बाट होमस्टे सञ्चालनमा ल्याएका थिए ।

    यसअघि नेपालको स्याङजा सिरुबारीमा मात्रै होमस्टे थियो । करीब २ दशक अघिको होमस्टे र अहिलेको होमस्टेमा के फरक आए भनेर घलेगाउँमा यस सम्बन्धी छलफल गरिएको छ । घलेगाउँ महोत्सव आयोजनाको २० औं संस्करणमा स्थानीयले वरपरका होमस्टेसँग मंगलबार अनुभव सुनाउँदै छलफल गरेका हुन् ।

    पर्यटकलाई स्वागत सत्कार गरी घर भित्र्याउने, घरमा पकाएको खानेकुरा उनीहरुलाई खुवाउने, भोलिपल्ट बिदाई गरी पठाउने तरिकाबाट होमस्टे सुरुवात भएको मानिन्छ । पारिवारिक वातावरणमा परिवारसँगै बसेर खाने र सफा ठाउँमा सुत्ने व्यवस्था होमस्टेमा गरिन्थ्यो । घलेगाउँका अगुवा प्रेम घलेका अनुसार आफ्ना आफन्त घर आउँदा मिठो मसिनो खुवाउने, राम्रो ठाउँमा सुत्न लगाउने कार्यबाट होमस्टेको सुरुवात भएको हो । 

    ‘गाउँमा धेरै आफन्त आउनुहुन्थ्यो, आउने गर्छन् । परिवारसँगै खाना खुवाएर छुट्टै ठाउँको सुताउने गथ्र्यौं’ उहाँले भन्नुभयो, ‘पछि गाउँ हेर्ने भनेर अलि टाढाको साइनो रहेका आफन्तहरु आए । उनीहरुलाई पनि व्यवस्थित तरिकाले राख्यौं ।’

    आफन्त आउने गाउँमा अब टाढा–टाढाका पाहुनालाई बोलाउन पाए हुन्थ्यो भन्ने हेतुले होमस्टेको सुरुवात गरिएको उहाँले बताउनुभयो । ‘टाढा–टाढाबाट आएर उहाँहरु यतिकै बस्नुहुन्न । २÷४ पैसा छोड्नुहुन्छ झैं लाग्यो’ उहाँले भन्नुभयो, ‘गाउँमा पाहुना आउन थालेपछि हामीले स्वागत गरी घरमै राख्यौं । यसलाई व्यवस्थित गर्ने भन्दै अघि बढ्यौं । यहींबाट हाम्रो होमस्टेको सुरुवात भयो ।’

    होमस्टेका लागि छुट्टै कोठा बनाउन आवश्यक छ । भुइँतलामा कोठा, कोठाभित्र खानेपानी, सफा बेडसेट, ऐन, बिजुली हुन आवश्यक छ । बिजुली नहुँदा वैकल्पिक स्रोत हुनुपर्छ । नजिकै शौचालय र बाथरुम, कोठामा आउनेजाने बाटो राम्रो हुनुपर्छ । घरभित्र धूवाँ नहुने चुल्हो, गुन्द्री, राडी हुन आवश्यक छ । प्रेम घलेले आफ्नो सुरुवाती अनुभव सुनाउँदै गर्दा  घलेगाउँ आएका वरपरका होमस्टे सञ्चालक मन्धमुग्ध भएर बसेका थिए ।

    घलेगाउँ र प्रेम घलेले चालेको कदमबारे सुन्न घलेगाउँबासीले वरपरका होमस्टे सञ्चालकलाई बोलाएका थिए । भुजुङ, पसगाउँ, घनपोखरा, ढगैं, सिउरुङ, खासुर, गिलुङ, घाम्राङ लगायत गाउँका हामेस्टे सञ्चालक आएका थिए । सहजकर्ता ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) का अध्यक्ष राजेन्द्र बोहराले होमस्टेलाई व्यवसायिकरण गर्न र आत्मनिर्भरसँग जोड्दै लानुपर्ने बताउनुभयो । 

    ‘हिजो हामी पाहुनालाई बास दिन्थ्यौं । खाना पकाएर खुवाउँथ्यौं । सुताउँथ्यौं र बिदाई गरेर पठाउँथ्यौं’ उहाँले भन्नुभयो, ‘घरबास (घरमा बसाउने) मात्रै होइन होमस्टे, अब घरमा धेरै दिन पाहुनालाई बसाउन सक्ने योजना र पूर्वाधार बनाउन आवश्यक छ ।’ उहाँका अनुसार गाउँमा सहरका जस्तो शौचालय, नुहाउने कोठा खोज्ने भएकाले त्यस्ता कोठाको व्यवस्थापन गर्नुपर्ने बताउननुभयो । 

    ‘गाउँघरमै उत्पादित स्थानीय खाद्य वस्तुलाई मिठो बनाएर खुवाउन सकिन्छ । बढी भन्दा बढी तालिम लिन आवश्यक छ । सहरमा उत्पादिन वस्तु खुवाए होमस्टेको स्वाद आउँदैन’ उहाँले भन्नुभयो, ‘सुत्ने कोठा, शौचालय  कोठासम्म हिँड्ने बाटो भने होटल जस्तै सहज हुन आवश्यक छ ।’

    पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष बलराम गुरुङका अनुसार सरकारी सहयोग बिना होमस्टेको पूर्वाधार तयार पार्न गाह्रो छ । ‘पूर्वाधारले होमस्टे सुविधायुक्त देखिन्छ । भौतिक संरचना निर्माणका लागि सरकारी सुविधा आवश्कय छ’ उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ अनुदान पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो होमस्टेको पूर्वाधारका लागि भनिएपनि होमस्टेकै लागि भने होइन । उहाँले भन्नुभयो, ‘पहिले १८ घर होमस्टे चलाएका थियौं । सरकारी सेवासुविधा नपाउँदा र गाउँमा पर्यटक नहुँदा अहिले १० वटामा झरेको छ ।’

    उहाँले पाहुनालाई घरमा बास दिएर मात्रै होमस्टे नहुने बताउनुभयो । ‘होमस्टे चलाउन होमस्टेको प्रचारप्रसार हुनु प¥यो । गाउ“ आउने बाटो सहज हुनु प¥यो । पाहुनाले चाहे अनुसारको वातावरण र भौतिक संरचना हुनु प¥यो’ उहाँले भन्नुभयो, ‘संरचना निर्माण हुन नसक्दा सबै ठाउँमा पर्यटक राख्न सकिएको छैन ।’

    मर्स्याङदी गाउँपालिका ३, सिउरुङस्थित होमस्टे सञ्चालक सुलाराम गुरुङका अनुसार युवा विदेश जाने, छोरीबुहारी सहर झर्ने र बुढाबुढीले होमस्टे धान्नु परेको गुनासो गरे । उनका अनुसार सिउरुङको १४ घरमा होमस्टे छ । ‘होमस्टे जति बुढाबुढीले धान्नु पर्ने अवस्था छ, महिलाले धान्नुपर्ने अवस्था छ । घरायसी कामले पर्यटकको स्वागतसत्कारमा अझै लाग्न सकिएको छैन’ उनले भने, ‘हिजोको पाराले चलाएर भएन । नया“ पाराले चलाउन आर्थिक समस्या छ ।’ उनले सिउरुङमा स्वदेशीसंगै विदेशी पर्यटक धेरै आउने गरेकाले उनीहरुले वातावरण र खानपान गाउ“को र बसाई सहरको जस्तो खोज्ने गरेको बताए ।

    प्रकाशित:वैशाख २७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्