कर्मचारी र जनप्रतिनिधिबीच लडाईं आवश्यक छैन : मन्त्री पण्डित 

काठमाडौं

    जेष्ठ ७, २०७६

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनप्रतिको असन्तुष्टि केही दिन भित्रै अन्त्य हुने दावी गर्नुभएको छ । समायोजन प्रति अधिकांश मागहरु नाजायज रहेको दावी गर्दै उहाँले उपयुक्त असन्तुष्टिको सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

    रेडियो कान्तिपुरसँग बिहान कुरा गर्दै मन्त्री पण्डितले स्वास्थ्यतर्फको समायोजनमा देखिएको समस्या समाधानको अन्तिम चरणमा रहेको बताउनुभयो । कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने अबस्था रहने भएकाले त्यसमा कुनै बहानाबाजी आवश्यक नरहेको मन्त्री पण्डितको भनाई थियो । उहाँले भन्नुभयो, 'राष्ट्र सेवक कर्मचारीले फलानो ठाउँमा जान्छु, फलानो ठाँउमा जान्न भन्न पाईदैन । खटाएको स्थानमा खटिनुपर्छ, अनावश्यक असन्तुष्टिको कुनै औचित्य छैन ।' 

    प्रदेश २ सरकारले हिजो प्रदेशसभामा पेश गरेको निजामती कर्मचारी विधेयकले केन्द्र र प्रदेश सरकारबीच थप द्वन्द्व बढाउने भन्दै मन्त्री पण्डितले केन्द्रको स्वीकृति बिना त्यो सम्भव नहुने जिकिर गर्नुभयो ।   

    फरक प्रसंगमा मन्त्री पण्डितले स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीचको द्वन्द्व आवश्यक नरहेको बताउनुभयो । केही स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच देखिएको असमझदारी अन्त्यका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने उहाँको भनाई थियो ।

    कर्मचारी कानुन जान्ने र जनप्रतिनिधि जनताको भावना अनुसार चल्ने भएकाले दुबै पक्ष मिलेर स्थानिय तहको विकास र बिस्तारमा क्रियाशील हुनुपर्ने उहाँको भनाई छ । 

     

    प्रकाशित:जेष्ठ ७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्