प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै

- रेडियो कान्तिपुर, काठमाडौं

    जेष्ठ २९, २०७६

    युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अपरान्ह फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोलिबाट गर्नुहुनेछ ।

    फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा छलफल हुनेछ । भेटका क्रममा उहाँले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नुहुनेछ ।

    प्रधानमन्त्री ओलीले स्थानीय व्यापारीहरुसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । सम्बोधनका क्रममा उहाँले नेपाल र फ्रान्सबीचको सम्बन्धबारे चर्चा गर्नुहुनेछ । 

    प्रधानमन्त्री ओलीले हिजो बेलायतका प्रधानमन्त्री टेरेसा मे र राजकुमार ह्यारीसँग कुराकानी गर्नुभएको थियो । नेपालले प्रविधि हस्तान्तरण र लगानीको क्षेत्रमा सहयोग गर्न बेलायतलाई आग्रह गरेको थियो भने नेपाललाई संधै दृढ समर्थन र ऐक्यवद्धता रहेको प्रधानमन्त्री मेको जवाफ थियो ।

    प्रधानमन्त्री ओलीले आगामी शनिबार युरोपमा रहेका नेपाली राजदूतहरुसंग छलफल गर्ने र आइतबार काठमाडौं फर्कनु हुनेछ । 

    प्रकाशित:जेष्ठ २९, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्